विचार

आफुमात्र हिरो बन्न खोज्ने नेताहरुको अस्तित्व संकटमा !

charchaonline

मुकून्द कालिकोटे । एक्लो बृहस्पति बनेर सदाबहार मन्त्री पड्काउने धेरै पार्टीका नेताहरुलाई थ्रेसहोल्डको नियमले ठूलो सङ्कटमा पुर्याईदिएको छ ।

थोरै पार्टीका नेताहरुले आफूपछिको उत्तराधिकारी जन्माउन नखोजी आफूमात्र हिरो (एक्लो बृहस्पति) बन्न खोज्ने नाम चलेका नेताहरु डा.बाबुराम भट्टराई, पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी, कमल थापा, चित्रबहादुर केसी, सीपी मैनाली, मोहनविक्रम सिंह, मोहन वैद्य, नारायणमान विजुच्छेले राजनीतिमा आफ्नो अस्तित्व जोगाउन धेरै पापड पेल्नुपर्ने देखिन्छ ।


सम्पन्न निर्वाचनले अर्को कुरा के गर्दियो भने सङ्गठन विस्तार गरी पार्टीलाई मजबुत बनाउन नजान्ने तर ठूला पार्टीको छत्रछायामा जाने साना दलका धेरै नेताहरुलाई त अब एमाले, काँग्रेस, माओवादी, फोरम र राजपासँग लेपासिनु बाहेक दोस्रो विकल्प देखाईदिएको छैन् । भोली उनीहरु तग्रिने अवस्थासम्म हड्डीमा मासी सुकिसकेको हुनेछ भन्छन् राजनीतिक विष्लेषकहरु ।अहिले एमाले, काँग्रेस, फोरम र राजपा शक्ति केन्द्रमा छन् । यसमा पनि राजपाका नेताहरुले जहाँ जसरी जिते उनीहरुले आफ्ना धेरै उत्तराधिकारीहरुसहित पहिचान र अस्तित्वको लडाई लडिरहेका छन । तर पनि उनीहरुको राजनीति पोखरीमा मात्र सीमित रह्यो समुन्द्रमा पौडी खेल्न सक्ने क्षमता सिर्जना गरिएन भने प्रश्नचिन्ह खडा हुने आधारहरु धेरै हुनसक्छन् । देश र जनताको हितमा राजनीतिक गर्ने पार्टीहरुले सम्पूर्ण जनताको मन जित्न सफल हुनपर्छ । राजनीति भित्तामा झुन्ड्याएको ऐना होईन जुनबेला हेर्याे आफ्नै अनुहार देखिने । विकाशोन्मुख बाटोमा अघि बढेको देश हेर्न लालयित जनताको मन जित्ने खुला किताव झैँ राजपाको राजनीति भैदिएन भने त्यो भित्तामा अर्कैको ऐना झुण्डिन पनि सक्छ । सुगा रटाई अबको राजनीति होईन ।

 
सबैभन्दा ठूलो पार्टी एमाले कै कुरा गर्ने हो भने पुष्पलालले मनमोहन अधिकारी, मनमोहनले मदनकुमार भण्डारी, मदनले झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओली जस्ता उत्तराधिकारी जन्माए अनि बन्यो बहुदलीय जनवादसहितको ठूलो दल एमाले । अहिले यी तीन नेताहरुले जन्माएका उत्तराधिकारीहरु बामदेव गौतम, ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुषाल, प्रदिप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, रविन्द्र अधिकारी जस्ता नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोगका साथै सचेत गराउँदै आएका छन् । 

अहिले एमालेमा गुट उपगुट खासै देखिदैन दर्विलो सल्लाह, सुझाव दिने नेताहरु छन् । पार्टीमा आगामी पुस्ताका नेताहरु हामी पनि छौं भन्ने हैसियत राख्दैछन् । त्यसै कारण पनि माओवादी केन्द्रसँग पार्टी एकता हुन नसकेको कुरा सर्वत्र चर्चाको विषय बनिरहेको छ । दोस्रा पुस्ताका नेताहरुको अभ्यास पनि बहुदलीय जनवादसहितको एमालेको अस्तित्व समाप्त नहोस् भन्ने नै हुनसक्छ ।

नेपाली काँग्रेसको त विपी कोईरालापछिका टङ्कप्रसाद आचार्य, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला, सुशिल कोईराला जस्ता उत्तराधिकारीको खाँचो परेन हालका पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा टक्कर दिने प्रकाशमान सिंह, शशाङ्क कोईराला, कृष्ण सिटौला, विश्वप्रकाश शर्मा, गगन थापा कै कुरा गर्दा काफी हुन्छ । हारजित कुस्ती खेल्नेहरु कै बीच हुन्छ यो अभ्यास भनेको पार्टीलाई ज्युँदो राख्ने नै हो । अहिले    अङ्क गणितमा फेल भएको मात्र हो प्रजातन्त्रको लगाईँमा सफल हुँदै आएको पार्टी हो नेपाली काँग्रेस ।

माओवादी केन्द्र र कमरेड प्रचण्डको राजनीति

वि.सं. २०२८ मा पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक यात्रा शुभारम्भ गरेर २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमाण्डर र ०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन भूमिगत जीवनबाट सार्वजनिक भएपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।


कमरेड प्रचण्डलाई राजनीतिका चतुर खेलाडी, महात्वाकाँक्षी र जहिले पनि शक्ति खोज्ने नेता हुन् । पार्टी टुक्रिएर झण्डै समाप्त हुन लागेका प्रचण्डले कहिले नेपाली काँग्रेससँग कहिले एमालेसँग लगनगाँठो कसेर अहिले उनी यो ठाउँसम्म आईपुगेका छन् । यो राजनीतिक चतुर्याई प्रचण्डमा थिएन भने सीपी मैनाली, चित्रबहादुर केसी, कमल थापाको दाँजोमा पुग्ने अवस्था थियो ।


‘राजनीतिमा सम्भावनाका खेलहरु धेरै हुन्छन्’ भन्दै आएका प्रचण्डका अबका दिन उनले सोचे जस्ता देखिदैन । स्वंम प्रचण्डले पोईल जाने राजनीति दर्पण छाँयाको हो र राजनीतिमा खेल्ने ठाउँ पनि साँघुरिएको हुँदा अबका सम्भावनाका खेल पनि निश्चित घेराबन्दीमा आईसकेकोले एमालेसँग पार्टी एकता गर्न कम्मर कसेर लागेका हुन् भन्छन् बौद्धक बर्गहरु । 

अर्को माओवादी केन्द्रका भातृ संघ संङ्गठनहरुमा खिया लाग्दै गरेको र भारी विसाउन आफैले उद्घाटन गरेको चौतारी नहुँदा सुरक्षित अवतरणको खोजी स्वरुप वाम गठबन्धन बनाएर उनी निर्वाचनमा होमिए । 

चुनावी परिणाम आए लगत्तै केपी ओलीको फोटो कपी भाषण गर्न थालेका छन् । प्रचण्डको यो अडान, शैलीलाई चातुर्यता या समर्पण के भन्ने छुट्याउनै नसक्ने छ ।  उनी उपेन्द्र यादवको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने र दुईतिहाई बहुत पुर्याएर सशस्त्र जनयुद्धदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय अदालतमा दर्ज भएका धेरै खाले राजनीतिक मुद्दाको भारी बिसाउने कोशिसमा छन् या हरेश नखाने दम भएका नेताका रुपमा दाँत हुँदै खसीको ह्याँकुला नै खानुपर्छ भन्ने दाउमा छन् भन्छन्् राजनीतिक विष्लेषकहरु ।

अब प्रचण्ड कमरेडको यो राजनीतिक सकसलाई दूधले नुहाईदिने एमालेको प्रतिबद्धता कहाँसम्म रहन्छ र आफूमा आईपरेका राजनीतिक सकस कहाँ लगेर टुंग्याउँछन् आम जनतामा चासोको विषय बनिरहेको छ ।

संघीय समाजवादी फोरम र उपेन्द्र यादवको राजनीति

पार्टीका एक्लो बृहस्पति र मधेशका हिरोको उपनाम दिईदै आएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको अवस्था पनि कामरेड प्रचण्डको भन्दा कम छैन ।
सांसद उपेन्द्र यादवकोे राजनीतिक यात्रा पनि ठूलै छ ।  माले हुँदै माओवादीसँगको निकटता पछि सन् १९९७ मा मधेशी जनअधिकार फोरम नेपाल गैरसरकारी संस्था गठन गरेका थिए र त्यही मञ्चबाट सक्रिय रुपले मधेश केन्द्रित राजनीतिमा होमिए ।


संकटकालको समय उनी आप्रवासनमा बसेका बेला भारतमा पनि जेल परे । २०६३–०६४ को मधेश आन्दोलनबाट उनी राजनीतिको चर्चामा पुगे । आत्मनिर्णयको अधिकारसहितको समग्र मधेश एक प्रदेश र संघीयता, समावेशीको मुद्दा उठाएर उनी अगाडि बढे । जुन मुद्दा अहिलेसम्म बोकिरहेका छन् । 


पहिलो संविधानसभामा ५२ सिटसहित चौथो शक्ति बनेर उदाएको फोरम टुक्रँदै १३ सिटमा सीमित हुँदा पनि हार नखाई पार्टीलाई बलियो बनाउन दोस्रो संविधानसभापछि अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेर पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखेर अगाडि बढे ।

राजनीतिमा खारिँदै आएका उपेन्द्र यादवले ठूलो छाती बनाएर देशैभरका आदीवासी जनजातीसहित सम्पूर्ण जाति र वर्गहरुसँग आफ्नो राजनीतिक जेहाद छेड्ने प्रथम प्रयासले अहिले पनि उनी चौथो शक्ति मै छन् यो उनको एक्लो प्रयास हो ।

राजनीतिमा धेरै नखोक्ने भित्री रुपमा खेल्ने नेताका रुपमा चिनिएका यादवले राजपासित सहकार्यको यात्रा टुङ्ग्याएर सरकारमा जाने निर्णय समेत भैसकेको अवस्था छ । 
उनले उठाउँदै आएको आत्मनिर्णयको अधिकारसहितको समग्र मधेश एक प्रदेशको राजनीतिक मुद्दा उनका लागि ओझेलमा पर्दै गएको अवस्था छ । राजपाले जसरी यो मुद्दालाई दर्विलोसाथ अगाडि लैजानसक्छ तेति सजिलो यादवलाई छैन । उनले कुनै एक प्रदेश, जाति, भाषा, धर्म या भेषभूषालाई लिएर राजनीति गर्न अब सम्भव छैन किनभने हिमाल, पहाड र तराईका जनताको मतले यो स्थानमा पुगेका छन् उनीहरुको पनि आवाज बोल्नुपर्छ । 

अबको पाँच वर्ष शक्ति आर्जन गर्ने प्रतिष्पर्धाको राजनीतिक लडाईको वर्ष हुने निश्चित छ । एमाले, काँग्रेस, माओवादी केन्द्र र राजपाहरुको सिँडी उक्लने प्रतिष्पर्धामा यादवको राजनीतिक यात्रा पनि सकसपूर्ण देखिन्छ । त्यसकारण पनि सरकारमा केही गर्न सकिन्छ कि भन्ने आशा यादवको हुनसक्छ । अहिले कम्युनिष्टहरु कै बाहुल्यता भएको र केपी ओली सरकारले राम्रो काम गर्दै गएको अवस्थामा कम्तिमा पनि १५ वर्ष देश हाँक्छन भन्ने अनुमान गरिँदै आएको अवस्था छ । उपेन्द्र यादवको कम्युष्टिबाट सुरु भएको राजनीतिक यात्रा अनि कुनै बेला एमालकै शक्तिकेन्द्रमा रहेका तर हाल फोरमभित्र रहेका अशोक राई, र राजेन्द्र श्रेष्ठबीचको कुरा मिल्यो भने एमाले, माओवादी केन्द्र्र र संघीय समाजवादी फोरमबीच धु्रवीकरणको सम्भावनालाई नकार्न सकिदैन । उपेन्द्र यादवको यो राजनीतिक सकसलाई ओली र प्रचण्डले कसरी लिन्छन त्यो आगामी दिनले बताउला ।
 

तपाइको मत

0
0
0