राजनीति

एमाले र माओवादी केन्द्र बीच कार्यदल निर्माण गर्दै सकियो संयोजन समितिको बैठक

रमेश गिरी,भक्तपुर, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्र्टी एकता गर्न बनेको संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका लागि छ सदस्यीय कार्यदल बनाएको छ । 
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको बैठकले सो कार्यदल बनाएको एमाले नेता वामदेव गौतमले बताउनुभयो । 

उहाँका अनुसार, कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे रहनुभएको छ भने माओवादी केन्द्रबाट नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहनुभएको छ । 

बैठकपछि संचारकर्मीलाई प्रतिकृया दिँदै नेता गौतमले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका बारेमा कार्यदलले काम गर्नेछ । राजनीतिक तथा कानूनी विषयमा तयारी गरेर कार्यदलले पार्टीलाई सुझाव दिने गरी कार्यदल बनाएको उहाँले बताउनुभयो । 

नेता गौतमले पार्टी एकताको विषयमा कुनै शंका नगर्न आग्रह गर्दै एकतामा कुनै विवाद र विमति नरहेकाले छिट्टै पार्टी एकतालाई टुङ्गोमा पु¥याउने निष्कर्षसमेत बैठकले निकालेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आजको बैठकमा अत्यन्त गम्भीरताका साथ हामीले छलफल ग¥यौँ, पार्टी एकता गर्ने सम्बन्धमा कुनै विवाद, प्रश्न र विमति छैन, त्यसैले पार्टी एकता हुदैन कि भन्ने कल्पना पनि नगर्न कार्यकर्तालाई आग्रह गर्ने निर्णय भएको छ, नकारात्मक ढंगले सोच्ने आवश्यकता पनि छैन, पार्टी एकता गर्छौँ भन्ने बारे हामी गम्भीर छौँ ।” 

बैठकमा पार्टीको वैचारिक, राजनीतिक र संगठनबारे गृहकार्य गर्नसमेत कार्यदल बनाउने सहमति भएको छ । पार्टी एकता सम्बन्धमा भने अर्को बैठकबाट कार्यदल निर्माण गर्ने सहमति भएको छ । यसबीचमा कार्यदल निर्माण गर्न थप गृहकार्य हुने नेता गौतमको भनाइ छ । 

बैठकले पार्टी एकताका लागि सांगठानिक र सैद्धान्तिक विषयको टुंगो लगाउन कार्यदल बनाउने भनिए पनि त्यसको तय गर्न भने सकेन । एकता संयोजन समितिको बैठकपछि नेताहरुले पार्टी एकताको विषयमा कुनै विवाद नभएको बताएका छन् । 

बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानूनी प्रक्रिया पूरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई आग्रहसमेत गरेको छ । त्यसैगरी सरकारलाई संवैधानिक अधिकार प्रयोग गर्दै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न आग्रह गरेको छ । 

अध्यक्ष ओली स्वास्थ्य परीक्षण गरी फर्केलगत्तै संयोजन समितिको बैठक फेरि बसेर त्यसले पार्टी एकताका सम्बन्धमा आवश्यक निर्णय गर्ने भएको छ । 

ओली उपचारका लागि बुधबार बैंकक जाँदै हुनुहुन्छ । उहाँ एक साता बैंककमा रहने बताइएको छ । (रासस)
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0