विविध

पर्सा निकुञ्जभित्र लाग्ने मेला व्यवस्थित गर्न माग

वीरगञ्ज, धार्मिक तथा ऐतिहासिक दुधेश्वरनाथ मन्दिरमा लाग्ने धार्मिक मेलाका कारण पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको दुर्लभ वन्य जन्तुको सुरक्षामा चुनौती थपिएपछि निकुञ्ज प्रशासनले मेला व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समितिको ध्यानाकर्षण गराइएको छ । 

साउन, माघ र फागुन गरी वर्षमा तीनपटक लाग्ने सो मेलामा आउने नेपाल तथा भारतका भक्तजन र श्रद्धालुको चापका कारण निकुञ्जभित्र रहेको दुर्लभ वन्य जन्तु असुरक्षित हुने भएकाले निकुञ्ज प्रशासनले मन्दिर व्यवस्थापन समितिको ध्यानाकर्षण गराउँदै सो समस्या समाधानको दीर्घकालीन उपाय खोज्न अनुुरोध गरेको हो । 

निकुञ्जको मध्यभागस्थित दुधेश्वरनाथ महादेव मन्दिर वरपर वन जन्तुका लागि अति आवश्यक र घाँसेमैदान भएको र त्यहाँ हात्ती, गैँडा, मृग, बाघ आउने भएकाले मेला भर्न आउने श्रद्धालु भक्तजनको सुरक्षाका लागि मेला व्यवस्थित गर्नु जरुरी भएको प्रमुख संरक्षण अधिकृत हरिभक्त आर्चायले राससलाई बनाउनुभयो । 

जनावरकै सुरक्षाका लागि त्यस ठाउँबाट बस्ती हटाइएकाले मेला भर्न आउने श्रद्धालुले फाल्ने प्लास्टिकका बोतल, झोलालगायतका अन्य सामग्रीले त्यस ठाउँमा फोहर हुने हुँदा निकुञ्जको पर्या–प्रणाली तथा जनावरको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले मेलालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिइएको हो । 

मेला भर्न आउने श्रद्धालुको होहल्ला र कोलाहालले वातावरणमा असर पार्दा वन्यजन्तु आक्रामक हुने भएकाले मन्दिरमा जल चढाउने व्यवस्था मात्र गर्नुपर्ने आवश्यकता औल्याइएको छ । 

दिगो पर्यटकीय विकासका लागि मेला आवश्यक रहेकाले सो मन्दिरमा श्रद्धालुलाई वन्यजन्तुमा असर नपर्ने गरी सुरक्षित तरिकाले जल चढाउने र फर्किने दीर्घकालीन वातावरण बनाउनु पर्ने माग निकुञ्जको छ । 

निकुञ्जभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पहिचान भएका बाघ, हात्ती, गैँडालगायतका दुर्लभ वन्यजन्तु र यसको वासस्थानमाथि नकारात्मक प्रभाव नपर्ने गरी व्यवस्थितरुपमा मेला भर्नुपर्नेमा जोड दिइएको छ । 

आगामी माघ ८ गते श्रीपचञ्मीका दिन लाग्ने सो मेलाको सम्बन्धमा निकुञ्ज प्रशासनले दर्घकालिनरुपमा निकुञ्ज बाहिर मेला लगाउन उपयुक्त हुने सुझाव मन्दिर संरक्षण समितिलाई दिँदै आएको छ । 

नेपालमै एउटा उत्कृष्ट वासस्थानका रुपमा विकसित हुँदै गएका बेला करिव ६२७ वर्ग किमीसम्म फैलिएको उक्त निकुञ्जभित्र १२० वटा जंगली हात्ती, एक हजार ८४३ वटा जरायो, १० वटा पाटेबाघका साथै लोप हुन लागेका काँडेभ्याकुर, सारस, अजिंगर, ३०० प्रकारका पशुपक्षीलगायत दुर्लभ वन्यजन्तु रहेका स्थानमा मानव गतिविधि बढ्दै गएकाले संरक्षणमा चुनौती थपिएको हो । 
––– 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0