समाज

बस दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराइदिन प्रदेश सरकारसँग महतोको माँग

charchaonline

 जनकपुरधाम, प्रदेश सभा सदस्य उपेन्द्र महतोले बस दुर्घटनामा परि मृत्यु भएका सर्लाही हरिपुर नगरपालिकाका मृतक परिवारहरूलाई क्षतिपूर्ति तथा राहत र घाईतेहरूलाई नि:शुल्क उपचार उपलब्ध गराइदिन प्रदेश सरकारसँग माँग गरेकाछन्।

यही मंसिर ६ गते सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा पूर्णिमा स्नान गर्न सर्लाहीबाट आएका तीर्थालु चढेको ना४ख ४८२५ नंको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ३९४० नं. को मिनी ट्रक लहान-पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ स्थित कमला पुल नजिकै एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परि सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको थियो र ४० भन्दा बढ़ी तिर्थालु घाईते भएको थियो भने उपचारको क्रममा घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामतृत साह र सर्लाहीकै हरिपुर नगरपालिका–९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको थियो।

आज सर्लाही कै राजपा नेपालको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य उपेन्द्र महतोले प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवसँग  सो घटनामा मृतक तिनवटै परिवारलाई राहत तथा क्षतिपूर्ति र घाईतेहरूलाई नि:शुल्क उपचार उपलब्ध गराइदिन प्रदेश सरकारसँग माँग गरेका छन्।  महतोले मन्त्री यादवलाई यसको लागि आग्रह पत्र समेत बुझाएका छन्।

मन्त्री यादवले क्षतिपूर्तिको लागि पहल गर्ने आस्वासन दिएको महतोले जानकारी गराए।

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0