राजनीति

अतिथिको विरोध गर्नु मिथिला संस्कृतिविरुद्ध

charchaonline

जनकपुरधाम, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोले सीताराम विवाह महोत्सव सन्दर्भमा जन्तीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने कार्यक्रमको विरोध गर्नु निन्दनीय भएको बताउनुभएको छ । 

जनकपुरधाममा आज विद्यापति ट्रष्टद्वारा आयोजित विद्यापति पर्व समारोहमा उहाँले अतिथिको विरोध गर्नु मिथिला संस्कृतिमाथिको आक्रमण हो भन्नुभयो । संयोजक महतोले उत्तर प्रदेशका मुख्यमन्त्री जन्तीमा आउने सन्दर्भ जनकपुरधामवासीका लागि सौभाग्यको विषय भएको यथार्थ विपरित काङ्गेसका उपसभाापति विमलेन्द्र निधिद्वारा व्यक्त अभिव्यक्ति मिथिला संस्कृतिप्रति खतराको सङ्केत भएको धारणा राख्नुभयो । 

उहाँले राष्ट्रिय जनता पार्टी नेपालको चक्रीय प्रणालीअनुरूप आफू सयोजक भएको कुरालाई अनाश्वयक ढङ्गले टिप्पणी गरिएको बताउँदै आफू महन्त ठाकुरको सहमतिले संयोजक भएको प्रस्ट गर्नुभयो । राष्ट्रिय जनता पार्टी नेपाललाई देशको वैकल्पिक शक्तिका रूपमा स्थापित गराउन प्रयास जारी रहेको बताउँदै उहाँले पार्टी महाधिवेशन निर्धारित मितिमा नै हुनेछ भन्नुभयो । 

संयोजक महतोले सरकारले संविधान संशोधनको नाम उच्चारण पनि नगरेका कारण छिट्टै पार्टीको बैठकमा सरकारलाई दिएको समर्थन बारे समीक्षा गर्दै रणनीति तय गरिने जानकारी पनि दिनुभयो । 

मिथिला संस्कृति र भाषा संरक्षणको खाँचो 

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल संयोजक राजेन्द्र्र महतोले मिथिला संस्कृृति र मैथली भाषाको रक्षा र संरक्षणको खाँचो औँल्याउनुभएको छ । विद्यापति ट्रष्टद्वारा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली भाषापछि सबैभन्दा बढी प्रयोग हुने मैथली भाषालाई कमजोर बनाउने कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्नुभयो । 

मिथिला संस्कृति र मैथली भाषा सामूहिक धरोहर भएको प्रसङ्ग उल्लेख गर्दै संयोजक महतोले मिथिला र मैथली कमजोर भएमा यसको परिचायक बनेको जनकपुरधाम पनि कमजोर हुने चिन्ता व्यक्त गर्नुभयो । 

प्रतिनिधिसभा सदस्य प्रमोद साहले विद्यापति संसारकै स्रष्टा भएकाले उहाँलाई कुनै जातिसँग सीमित गर्न नहुने धारणा राख्नुभयो । प्रदेशसभा सदस्य नीरा साहले विद्यापति जनकवि भएको चर्चा गर्दै विद्यापतिका गीत, भजन, काठमाडौँका नेवार समुदायमा अहिले पनि जीवन्त रहेको बताउनुभयो । 

प्राध्यापक अवधेश चौधरीले विद्यापतिको नेपाल बसाइँको धरोहरका रूपमा रहेको बनौली गढको संरक्षण र विकास आवश्यक रहेको छ भन्नुभयो । ट्रष्टका अध्यक्ष चन्द्रमोहन चौधरीको अध्यक्षतामा भएको सो समारोहमा राष्ट्रिय जनता पार्टीका महासचिव राजीव झा, पूर्व प्रमुख जिल्ला अधिकारी जीवछ मिश्रले विद्यापति र मैथिली भाषाको लोकप्रियताबारे धारणा राख्नुभएको थियो ।(रासस)  
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0