समाज

सभापति देउवाद्वारा घाइतेको अवस्थाबारे जानकारी

काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत काङ्ग्रेसका पदाधिकारी एवं नेताहरुले डडेल्धुरा दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिनुभएको छ । 

सभापति देउवा, पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीद्वय एनपी साउँद र वीरबहादुर बलायरलगायत नेता घाइतेको अवस्थाबारे बुझ्न आज काठमाडौँको ट्रमा सेन्टर पुग्नुभएको थियो । 

सभापति देउवाले उपचारमा संलग्न चिकित्सकसँग घाइतेको अवस्थाका बारेमा जानकारी लिनुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको नेता बलायरले राससलाई जानकारी दिनुभयो । 

डा. के.आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका– ११ रडुवा खोलामा बिहीबार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति घाइते हुनुभएको थियो । 

दुर्घटनाका गम्भीर घाइते छ जनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाँकी घाइतेको नेपालगञ्जको कोहलपुर र भारतमा उपचार भइरहेको नेता बलायरले जानकारी दिनुभयो । रासस
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0