परराष्ट्र मामिला

भारतीय प्रधानमन्त्रीलाई गार्ड अफ अनर प्रदान

charchaonline

काठमाडौँ, नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले गार्ड अफ अनर प्रदान गरेको छ । 

सैनिक मञ्च टँुडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा  गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च पुग्नुहुँदा स्वागत गर्नुभएको थियो । सैनिक मञ्चमा सम्मान गारदबाट सम्मानित हुने विशिष्ट पाहुनामा भारतका प्रधानमन्त्री मोदी दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहीद अब्बासी खकानको सम्मानमा पनि नेपाली सेनाले सैनिक मञ्च टँुडिखेलमा सम्मान गारद प्रस्तुत गरेको थियो । समारोहमा मन्त्रिपरिषद्का सदस्यका साथै प्रधानसेनापतिको पनि उपस्थिति थियो । 

नेपालको दुईदिने भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मोदी आज अपराह्न यहाँ आइपुग्नु भएको हो । यसअघि जनकपुरमा आयोजित विशेष समारोहमा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरलले उहाँलाई स्वागत गर्नुभएको थियो । 

प्रधानमन्त्री मोदीको सम्मानमा प्रदेश नं २ को राजधानी जनकपुरमा आज नागरिक अभिनन्दनसमेत भएको थियो । त्यसअघि उहाँले रामजानकी मन्दिरमा विशेष पूजार्चना गर्नुभएको थियो । 

विशेष विमानमा सवार भएर जनकपुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहाँस्थित अतिविशिष्ट कक्षमा प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गर्नुभएको थियो । सम्मान गारदलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनसँग उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा भारतीय प्रधानमन्त्रीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0