विचार

षोडसोपचार विधिबाट पूजा गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री

charchaonline

 हिमांशु चौधरी/वीरेन्द्र कर्ण,जनकपुरधाम, भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको आसन्न जनकपुरधामको जानकी मन्दिरमा षोडसोपचार विधिबाट गरिने विशेष पूजाअर्चना आम चासोको विषय बनेको छ । 

मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवका अनुसार यसअघि सो मन्दिरमा भारतका राष्ट्रपतिहरू नीलमसञ्जीव रेड्डी, ज्ञानी जेल सिंह र प्रणव मुखर्जीलाई सो विधिबाट पूजा गराइएको थियो । 

जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुनुहुने बताइन्छ । षोडसोपचार विधिबाट गरिने पूजामा पञ्च आहुती, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी करीब एक घण्टा पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृंगारका सामग्री अर्पण गरिने चलन छ । 

ईश्वर अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदूभाषणी गरिमयी कुलबधु , प्रकृति स्वरूपा सवल नारी, संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवतुल्य भएकी कारण सीतालाई पुज्यनीय र अनुकरणीय मानिएको छ । 

विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडसोपचार विधिबाट पूजाअर्चना गराइने परम्परा रहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दास बताउनुहुन्छ । 

जानकी मन्दिरलाई माता जानकीको निवासस्थल मानिएको छ । धार्मिक मान्यताअनुसार जानकी मन्दिरको प्रधान गर्भ गृह माता जानकीको कोहवर छ, जहाँ जानकी र राम शयन गर्नुहुन्छ । 

मुगल, हिन्दू र मैथिल वास्तु शैलीको अनुपम संगमबाट बनेको सो मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ । नौलखा, जानकी भवन, शीशमहल र नेपालको ताजमहल भनेर सो मन्दिर प्रख्यात छ । 

भगवान सीतारामका मूर्ति राखिएको कोठामा बस्ने मूलद्वार पनि चाँदीले नै मोडिएका छन् । यसको अगाडि सानो जगमोहन छ । गर्भगृहको मूलद्वारसँगै जोडिएर यसको दुबैतिर दायाँबायाँ स–साना बरण्डा बनाइएका छन् । जसलाई मिथिला वास्तुकलाको विशेषताका रूपमा लिइन्छ । 

गर्भगृह प्रवेश गर्ने मूलद्वारको दुबैतर्फको भित्तामा जीवनगाथासँग सम्बन्धित चित्रले जीवन्तता दिन खाजेको जस्तो लाग्दछ । भगवान सीतारामको सिंहासनको पछिल्लो भागमा अष्ठकुञ्ज नामक आठ कोठा छन् । यी कोठामध्ये दुई कोठा पाताल जाने बाटो भएको बताइन्छ । अन्य कोठा भगवानको शयन र स्नानका लागि प्रयोग गरिन्छ । 

जानकी मन्दिरमा कलाकारको मीठो सपना बोलेको देखिन्छ । यो मन्दिर किल्ला आकारको छ र चारैतिर साना– ठूला गुम्बज र बुर्जाहरूले घेरिएको छ । 

जानकी मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ । यसमा साठी कोठा छन् । मन्दिरको भब्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक छ भने जगमोहन मन्दिरको चारैकुनामा तीन, तीन वटाका दरले बनाइएका १२ वटा कलात्मक बुर्जाका साथै अन्य साना–ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर र प्रवेशद्वारका दुबैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको छ । 

सो मन्दिरको निर्माण मध्य भारतका ओरछा टिकमगढका महाराजा प्रतापसिंहका पत्नी वृषभानु कुँवरिले पुत्र प्राप्तिको खुशियालीमा विसं १९६७ माघ २८ गतेमा निर्माण गराएकी थिइन् । 

सो मन्दिरको निर्माणमा त्यस बेलाको व्रिटिश महारानीका चाँदीका सिक्का ३–४ लाख खर्च भएको भनिए पनि मन्दिर बनाउन शुरूमा नौलाख संकल्प गरिएको भनिन्छ । यो मन्दिर बनाउन जम्मा रु १५ लाख खर्च र बारह वर्ष लागेको बताइन्छ । 

जानकी मन्दिरलाई नौलखा मन्दिर पनि भनिन्छ । यस सन्दर्भमा यो पनि भनाइ रहेको छ कि महाराजा र महारानी जानकी मन्दिर बनाउन जति पनि खर्च गर्न तयार थिए । इकाइमा सो रकम भन्नु पर्दा नौ नै भन्नु परेकाले नौ लाख भनिएको हो । 

हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वस्तु, भवन, इमारतलाई सबैभन्दा उत्तम दर्जाको इकाइमा भन्नु पर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरिएकोले नौलखा भनिएको भन्ने मान्यता पनि पाइन्छ । 

सो मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि बनाइएका पत्थरका सिंहका मूर्ति पनि आकर्षक रहेको छ । यस कलात्मक पत्थरमा कलात्मक ढंगबाट रोमनमा एसपी लेखिएको देखिन्छ । 

भारतीय प्रधामन्त्री मोदीको जनकपुरधाम भ्रमण सन्दर्भमा जानकी मन्दिरमा गरिने पूजा अर्चनाका लागि मन्दिरलाई रंगरोगन गर्ने कार्य तीव्र पारिएको छ । जानकी मन्दिरको पूजाअर्चना कार्यक्रममा यस पटक नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहने भएकाले यसलाई नेपाल र भारतबीचको सम्बन्ध झन प्रगाढ हुने विश्वास लिइएको छ । 
 

तपाइको मत

सम्बन्धित सामाग्री

0
0
0